
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन् ।
सोमवार तिलगंगा आँखा प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाआयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरूको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए । 'डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,' प्रधानमन्त्री ओलीले भने, 'आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाई र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।'
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरूले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने उनको भनाइ छ ।
स्थापनाको २५ वर्षमै धेरै उपलब्धि हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंसा गरे । 'तपाईंहरूका प्रयास र सेवा अनुकरणीय छन्,' प्रधानमन्त्री ओलीले भने, 'सरकारको तर्फबाट तपाईंहरूलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।'