
काठमाडौँ। हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ ।
रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम चिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको छ । करिब चार हजारदेखि चार हजार दुई सय मिटरमाथिका हिमाली भेगका हिउँ नदी छेउछाउ र खुला टापुमा यिनले अण्डा पार्छन् । तापक्रम बढ्दै जाँदा तिलहरीको जीवनचर्यामै असर परेको चरा अध्ययनकर्ता बताउँछन् ।
हिमाली भेगमै पाइने हिउँ कुखुरा पनि बढ्दो तापक्रमका कारण सङ्कटमा परेको छ । ठूलो डाँफेलाई पनि तापक्रम बढेपछि अझ माथिल्लो भेगमा जानुपर्ने बाध्यता आइपरेको चराविद् हेमसागर बरालको निष्कर्ष छ ।
हिमाली भेगको सबैभन्दा माथि बाह्रै महिना बस्ने चरा अल्पाइन ट्रस्ट हो । पाँच हजार मिटरमाथि हिमालमा यसले बच्चा कोरल्छ । त्यस्तैगरी बरालका अनुसार चिसो पानीमा निर्भर चराको बसाइँ पनि तल्लो भेगबाट पहाडी भेगमा सर्न थालेको छ । धमिराको बच्चा निस्कने बेला अधिकांश चराले बच्चा कोरल्छ तर धमिराको बच्चा निस्कन ढिला भएपछि आहारा खोज्दै चरा पहाड उक्लन थाल्छन् ।
त्यस्तै मौसमको उतारचढावले कहिले बढी पानी पर्ने, कहिले असिना पर्ने, बाढी आउने क्रम रहँदा पनि सहजताका लागि चरा पहिलेको थातथलो छाडेर सुरक्षित स्थानमा जान थालेको पाइएको उनले बताए ।
तराईमा बस्ने झोडे गोकुल जातको कोइली काठमाडौँमा धेरै देखिन थालेको छ । तराईमा बस्ने जुन बकुलाको एक प्रजाति पोखराका पहाडमा देखिन थालेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।