काठमाडौं – भारतको झारखण्ड राज्यको राजधानी राँचीस्थित बिरसा मुंडा विमानस्थलमा बमको हल्ला फैलिएपछि सोमवार साँझ दिल्ली जाने विस्तारा एयरलाइन्सको उडानमा ढिलाइ भएको छ ।
विमान साँझ ८ः२५ मा उड्नुपर्ने थियो तर ढिलाइ भएपछि १०ः४० मा मात्र उड्न पायो । सूत्रहरूका अनुसार, विस्तारा एयरलाइन्सलाई रअको एजेन्ट बताउने व्यक्तिले फोन गरी विमानमा बम भएको बताएको थियो ।
रअको अधिकारी सतीश कुमार सिंह हुँ भन्दै उक्त व्यक्तिले बम भएको बताएपछि राँची विमानस्थलका अधिकारीहरूले सीआईएसएफ र राज्य प्रहरीलाई सचेत गराए । सुरक्षाकर्मीहरूले विमान खाली गराए । तर विमानमा कुनै बम फेला परेन ।
विमानस्थलका निर्देशक विनोद शर्माले सतीश कुमार सिंह नामक व्यक्तिको नाम उक्त विमानका यात्रीहरूको सूचीमा रहेको बताए । अनुसन्धान टोलीको नेतृत्व गर्ने हटियाका डीएसपी प्रभाथ रञ्जन बरवारले पूरा प्रक्रिया आधा घन्टामा सकिएको बताए ।
प्रहरीले सतीश सिंहको बारेमा केही पत्ता लगाउन सकेको छैन ।
एजेन्सी