काठमाडौँ, १४ चैत - साउदी अरबमा जेलजीवन बिताइरहेकामध्ये पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएकाहरू ६ जना छन् । त्यसमध्ये मादक पदार्थ कारोबार गरेको अभियोगमा रुपन्देहीकी ललिता दमाईंलाई पनि ३० महिनाको जेलजीवन सुनाइएको छ । उनको बच्चासमेत भएकाले आधा सजाय घटाइएको र एक सय २० कोर्राको सजाय त्यहाँको अदालतले सुनाएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
साउदी अरबमा भारतीय, फिलिपिनी, अफगानी, पाकिस्तानी, सिरियन, साउदी नागरिकको हत्या अभियोगमा पक्राउ परेका कतिपय नेपालीको मुद्दा अझै पनि विचाराधीन छ । अदालतले उनीहरूलाई मृत्युदण्डको सजायदेखि ब्लडमनीसम्मको सजाय सुनाउनसक्ने नेपाली राजदूतावासले जनाएको छ । साउदी अरबकै जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार साइबर क्राइमअन्तर्गत पक्राउ परेका एक नेपाली (नाम नखुलेको) लाई दुई वर्ष ६ महिना जेल र चार सय कोर्रा सजाय सुनाइएको छ ।
गम्भीर प्रकृतिका अपराध गर्ने र ठूलो सजाय सुनाइएकाको तथ्यांक राखिए पनि कम्पनी तथा मालिकसँग सम्बन्धित गुनासो लिएर दैनिकजसो दूतावास पुग्नेको गुनासो अभिलेखीकरण गर्न नसकिने कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताएको खबर नयाँ पत्रिकामा खबर छ ।