झापा, १४ चैत– झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत चुहावटमा संलग्न सात महिलासहित २० जना पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राती उनीहरुलाई विद्युत चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।
विद्यूत प्राधिकरणको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।
उनीहरुका साथबाट सिँचाइको मोटर, त्यसमा प्रयोग गरिने विद्युतीय तार बरामद गरिएको सिंहले बताए । त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको छ ।
विद्युत चुहावट नियन्त्रण ऐनअन्तर्गत उनीहरुमाथि कारबाही अघि बढाइने नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख सिंहले बताए ।