काठमाडौं, १४ चैत– गत बिहीबार साताव्यापी भ्रमणका लागि चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज (सोमबार) चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटवार्तामा आपसी हितका विषयमा छलफल हुने जनाइएको छ । यस्तै यसअघि नेपाल र चीन सरकारबीच भएका सम्झौता कार्यान्वयनका विषयमा पनि विशेष छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रचण्ड सरकार ‘भारतीय चाहानामा’ बनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीचको भेटलाई नेपालमा महत्वका साथ हेरिएको छ । भेटमा केही दूरगामी महत्वका विषयमा पनि छलफल हुने जनाइएको छ । यद्यपी दूरगामी महत्वका भनिएका विषय सार्वजनिक भने गरिएको छैन ।
भेटमा पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत प्रसारणलाइन तथा ग्रीडलगायत सीमासम्बन्धी विषयमा छलफल हुने छ । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।
प्रधानमन्त्री प्रचण्ड भोलि (मंगलबार) तिब्बतको ल्हासा गएर पर्सि (बुधबार) स्वदेश फर्किने छन् ।