
काठमाडौं – एक महिलालाई उनका पतिले १२ वर्षसम्म भोकभोकै राखेको आरोप लगाएकी छन् । सात वर्षीया बालिकाका लागि डिजाइन गरिएको कपडामा पत्नीलाई फिट गराउनका लागि पतिले भोको राखेको आरोप छ ।
अमेरिकाको अर्भिन शहरमा बस्ने क्याथरिन हार्टलीले म्याथ्यु हार्टलीसँग विवाह गर्दा उनी साइज १२ की थिइन् । म्याथ्युले साइज जिरोको कपडा लगाउने पत्नी चाहेका थिए ।
यो जोडीको भेट हुँदा क्याथरिन १५ वर्षकी थिइन् भने म्याथ्यु २५ वर्षका थिए । आफूलाई चुरोट र रक्सी पियाएर म्याथ्युले फकाएको क्याथरिनले बताइन् ।
उनीहरूको विवाह अक्टोबर २००६ मा भएको थियो । पतिले आफ्नो जीवनका सबै पक्षमा नियन्त्रण जमाउन खाजेको क्याथरिनले बताइन् । उनले के खाने, के नखाने पनि पतिले नियन्त्रण गर्ने गरेको क्याथरिन बताउँछिन् ।
म्याथ्युले आफूलाई मोटी पत्नी नचाहिएको भन्दै क्याथरिनलाई भरपूर खान नदिने गरेको उनले बताइन् । कुनै समयमा उनको तौल जम्मा ३१ किलो थियो ।
क्याथरिनले भनिन्, ‘मैले सुत्नुअघि खाना खाएँ भने उसले मलाई सोफामा सुत्न बाध्य बनाउँथ्यो किनकि मैले खाएको खानाको गन्धले उसलाई सताउँथ्यो । म यति दुब्ली भएँ कि ओछ्यानमा सुत्दा पनि मेरो हाड दुख्थ्यो । अन्तिममा गएर मैले सात वर्षीया छोरीको लुगा लगाउन थालें ।’
पतिले आफूलाई घाँटीमा समातेर उचाल्ने गरेको अनि एकपटक कोठाको एक कुनाबाट अर्को कुनामा फ्याँकेका थिए ।
अर्को एक घटनामा क्याथरिनले चुरोट पिएको देखेपछि म्याथ्युले उनको ड्रेसिङ गाउन तानेर उनलाई बाल्कोनीबाट फ्याँकिदिएका थिए ।
पछि उनले घरका सबै कोठामा सीसीटीभी जडान गरेर निरन्तर निरीक्षण गर्ने गरेका थिए ।
उनीहरू अगस्ट २०१७ मा छुट्टिए अनि अप्रिल २०१९ मा पारपाचुके लिए ।
छुट्टिएपछि क्याथरिनले प्रहरीसमक्ष पतिको व्यवहारका बारेमा गुनासो गरिन् ।
म्याथ्युले आफ्नीमाथि गरेको दुर्व्यवहार सकारे । अन्य महिलालाई पनि यौन दुर्व्यवहार गरेको उनले बताए ।
तर उनलाई कारागारमा बस्नुपर्ने सजाय दिइएन । उनलाई १२ महिनासम्म सुपरीवेक्षणमा रही समुदायमा काम गर्नुपर्ने र यौन कसूरदारको बहीखातामा हस्ताक्षर गर्न लगाइयो ।
आफूलाई पतिले वर्षौंसम्म गरेको दुर्व्यवहारका लागि यो कम सजाय भएको क्याथरिनको भनाइ छ ।
म्याथ्युले आफ्नो आत्मविश्वास र सम्मान ध्वस्त हुने गरी निरन्तर दुर्व्यवहार र आलोचना गरेको र ऊ महिलाका लागि खतराका रूपमा रहेको क्याथरिनको भनाइ छ ।
एजेन्सी