०१ साउन २०८३, शुक्रबार

प्रतिपक्षलाई गलाउने सभामुखको रणनीति, कांग्रेसलाई ३५ मिनेट पढाए संसदीय सर्वोच्चताको पाठ

प्रतिपक्षलाई गलाउने सभामुखको रणनीति, कांग्रेसलाई ३५ मिनेट पढाए संसदीय सर्वोच्चताको पाठ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) को विरोधका कारण प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ ।

सर्लाहीमा प्रहरीबाट मारिएका २ जनाको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले वेलमा नाराबाजी गरेपछि सभामुख महराले संसदको बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकको शुरूमै कांग्रेस र राजपा सांसदले उठेर विरोध जनाएका थिए । सांसदलाई समय नदिई सभामुख कृष्णबहादुर महराले शून्य समयको कारबाही प्रारम्भ गर्ने घोषणा गरेपछि कांग्रेस र राजपाका सांसदले वेलमा पुगेर नाराबाजी गरेका थिए ।

संसदीय छानबिन समितिको माग गरेका कांग्रेस र राजपाले संसदीय सर्वोच्चताको नारा लगाएका थिए । कांग्रेस र राजपा सांसदलाई महराले ‘थाक्नुभयो होला’ भन्दै पटक–पटक बस्न आग्रह गरेका थिए ।

‘आफ्नो ठाउँमा बस्नुभयो भने संसदीय सर्वोच्चता कायम गर भन्ने एउटा नारा ठीक छ, त्यसका लागि माननीय सदस्यहरू बस्नुपर्‍यो नि !’ महराले भने ।

संसदीय सर्वोच्चता कायम राख्न माग गर्दै नाराबाजी गरेपछि महराले कांग्रेस सांसदलाई ३५ मिनेटसम्म संसदीय सर्वोच्चताको पाठ सिकाए । ‘संसदीय सर्वोच्चता भनेको संसदमा छलफल गराउने हो, संसद अवरुद्ध भएपछि छलफल हुँदैन, अवरुद्ध भएपछि संसदीय सर्वोच्चता कायम हुँदैन,’ महराले भने, ‘अवरोध हटाएपछि छलफलबाट निकास निस्कन्छ, त्यही संसदीय सर्वोच्चता हो ।’ 

नेत्रविक्रम चन्द ‘विप्लव’का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल तथा सर्लाहीमै प्रहरीको गोली लागि मारिएका अर्का एकको मृत्यु सम्बन्धमा संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संसद अवरुद्ध गरेका थिए ।

बाढी पहिरो र डुबान पीडितको उद्धार र राहतका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्न भन्दै साउन ८ गते १ दिन संसदको बैठक सुचारु भएको थियो । 

विपक्षी सांसदले झण्डै ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले बुधवारसम्मका लागि बैठक स्थगित गरेका छन् । महराले आगामी बैठक सुचारु हुने अपेक्षा समेत गरेका छन् । अर्काे बैठक सुचारु हुने जनाउ दिएर महराले कांग्रेसको विरोधका बाबजुद बैठक चलाउने संकेत गरेका छन् । प्रतिपक्षी दललाई सभामुख महराले यति लामो समय वेलमा उभ्याएको यो पहिलो घटना हो । 

बैठकको कार्यसूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्नोत्तरको कार्यक्रम थियो ।

salt training

कमेन्ट गर्नुहोस्