३० असार २०८३, मंगलबार

मलाई हेग लगेर विश्वको हिरो कसैले बनाउँदैनन् : प्रचण्ड

मलाई हेग लगेर विश्वको हिरो कसैले बनाउँदैनन् : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगेर कसैले पनि विश्वको हिरो नबनाउने बताएका छन् ।

‘मलाई हेग लगे भने त म विश्वको हिरो हुन्छु, त्यो त मेरो लागि गर्वको कुरा हुन्छ,’ उनले भने, ‘मलाई लाग्दैन यिनीहरूले लान्छन् र मलाई विश्वको हिरो बनाउँछन् भन्ने मलाई लाग्दैन ।’

विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्तालाई सोमवार पार्टीमा स्वागत गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन नेताहरूविरुद्ध षड्यन्त्र र प्रचार भइरहेको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन पाए हुन्थ्यो भनेर प्रतिक्रियावादी लागेका छन् । त्यसका लागि नेताहरूलाई बद्नाम गर्न, सिध्याउन पाए हुन्थ्यो भनेर षड्यन्त्र र प्रचार गर्ने कोसिस गर्ने गरेका छन्,’ उनले भने, ‘हेगमा लाने अरे प्रचण्डलाई । अन्तर्राष्ट्रिय अदालतमा लगेर झुण्ड्याउने रे भनेर पनि लेख्या हुन्छन् । १ दिन भएपनि जेल हाल्नुपर्छ भन्छन् । १३ हजार मान्छे मारेको, स्कूल भत्काको । मन्दिर भत्काकोलाई राजनेता मान्ने भनेर लेखेको छ । यो डिजाइन अनुसार भइरहेको छ ।’

आफूले हेग लगेर पनि केही फरक नपर्ने प्रचण्डले बताए । ‘हेग लगे भने विश्वको हिरो भएर निस्किन्छु । संसारभरिको जनतालाई न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भन्ने चाहिँ थाहा हुन्छ । त्यो त मेरो लागि गर्वको कुरा हुन्छ ।’

गणतन्त्र संघीयता रहँदासम्म कोही पनि कमजोर नहुने प्रचण्डले बताए । ‘हामीलाई जहाँ लगेपनि हामी हिरो,’ उनले भने, ‘यो नै उल्टियो भने नेपालले दुःख पाउने, नेपालै खतरामा हुने हुन्छ ।’

विप्लवतिर संकेत गर्दै प्रचण्डले भने, ‘उल्टोउल्टो दिशातिर गयो भने क्रान्ति हुन्छ भन्ने लागेको छ केही साथीलाई तर यसरी क्रान्ति हुँदैन ।’ प्रचण्डले ललितपुरस्थित खुमलटार निवासमा विप्लवका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्