
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बाँस्पानी मोड बेलौतीघारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।
गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु५०प ८५५७ नम्बरेको मोटरसाइकलमा सवार २७ वर्षीया मनिषा वंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षत्रीले लोकान्तरलाई बताए ।
उनका अनुसार मृतकका पति डिलबहादुर वंशीको अवस्था सामान्य रहेको छ । घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
मृतकको टाउकोमा नै चोट लागेकाले घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी क्षेत्रीले बताए ।
गाडीले हानेर मारेको आरोप
मृतक वंशीका पति डिलबहादुर वंशीले आफ्नो विपरीत दिशाबाट आइरहेको बसले पछाडिबाट ठक्कर दिएको आरोप लगाएका छन् । लोकान्तरसँग कुरा गर्दै उनले आफू मोडमा मोडिएर आएको तर गाडीले पेलेका कारण पत्नीको हात टायरमा गएकाले घटनास्थलमै मृत्यु भएको आफूले देखेको बताए ।
‘टायरको पछाडिको भागले हानेको थियो । मैले अलि पर पुगेर हेर्दा मेरो श्रीमती सडकमा पल्टिसकेकी थिइन्,’ उनले भने, ‘त्यो देखेर मैले नियन्त्रणमा लिइसकेको मोटरसाइकललाई पछि नालामा हालें ।’
उनले मध्यपश्चिम यातायातको कर्णाली०२, ००१ ख ००४९ नम्बरको बसले ठक्कर दिइ पत्नीको मृत्यु भएको दाबी गरेका छन् ।
शव नउठाउने चेतावनी
मनिषाको सडक दुर्घटनामा परेर मृत्यु भएपछि त्यसको पूर्ण छानबिन नहुँदासम्म सडकबाट शव नउठाउने आफन्तले बताएका छन् । ‘घटनाको सत्यतथ्य छानबिन हुन आवश्यक छ,’ मृतक मनिषाकी नन्द धना सारुले भनिन्, ‘न्याय नपाएसम्म हामी शव उठाउँदैनौं । प्रहरीले घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्छ । अनि मात्र हामी शव उठाउँछौं । नभए १० दिन कुर्न परेपनि हामी तयार छौं ।’