०१ साउन २०८३, शुक्रबार

सेवाग्राहीको किचकिच थेग्न नसकेर मालपोत अधिकृत काठमाडौं टाप !

साउन १३, २०७६
सेवाग्राहीको किचकिच थेग्न नसकेर मालपोत अधिकृत काठमाडौं टाप !

बुटवल – कामको बोझ थेग्न नसकेर मालपोत कार्यालय पश्चिम नवलपरासी प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले राजधानी काठमाडौं टाप कसेका छन् ।

सेवाग्राहीको काम समयमा नगरेको भन्दै दिनहुँजसो हुने झैझगडाले काम गर्ने वातावरण नभएको जनाउँदै अधिकारी काठमाडौं हिँडेको बताइएको छ । 

सेवाग्राहीले एउटा कामको लागि १५/२० दिन कार्यालय धाउनुपरेको गुनासो गरेका छन् । पटक–पटक आउँदा समेत काम नभएको भन्दै आक्रोशित सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरी सदरमुकाममा प्रदर्शनसमेत गर्न थालेपछि ५ दिनअघि प्रमुख मालपोत अधिकृत अधिकारी काठमाडौं हिँडेका हुन् । कर्मचारी नपठाएसम्म आफू जिल्ला नफर्कने भन्दै अधिकारी मन्त्रालय र विभाग पुगेका छन् ।

कार्यालयमा अनलाइन सेवा शुरू भएपछि सेवाग्राहीको काम ढिलो हुने गरेको छ । कम्प्युटर अप्रेटरसहित अन्य कर्मचारीको संख्या कम हुँदा समयमा काम हुन नसकेको अधिकारीको भनाई छ । ‘कर्मचारी छैनन् त्यो कुरा सेवाग्राहीले बुझ्दैनन् । काम भएन भन्दै दिनहुँ सेवाग्राही कर्मचारीसँग झगडा गर्छन्, कसरी कार्यालय बस्नु ?' प्रमुख मालपोत अधिकृत अधिकारीले भने । 

१ महिनाअघि गाउँ/ब्लकको पूर्जा वितरण गर्न परासी पुगेकी  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले १ साताभित्र कर्मचारी पठाउने आश्वासन दिएकी थिइन् तर हालसम्म कर्मचारी पठाइएको छैन ।

‘मन्त्रीज्यूले तत्काल कर्मचारी पठाउने आश्वासन दिनुभएको थियो । अहिलेसम्म कर्मचारी पठाइएको छैन । कर्मचारी नपठाएसम्म जिल्ला फर्कन्न भनेर विभागमा आएको हुँ,’ अधिकारीले भने ।

त्यसबारे महानिर्देशकलाई जानकारी गराएको उनले बताए । महानिर्देशकले २/४ दिनमा कर्मचारी पठाउने आश्वासन दिएको अधिकारीले बताए । कार्यालयमा दैनिक १ सय बढी सेवाग्राही आउने गरेका छन् तर ३० देखि ४० जनाको मात्र काम हुने गरेको छ । कर्मचारी नहुँदा ३ महिनादेखि मुद्दा फाँटसमेत बन्द छ ।

कार्यालयमा ३७ जनाको दरबन्दी छ । १० जना खरिदारको दरबन्दीमा ४ जना छन् । ८ जना सुब्बामा १ जना छन् । १ प्रमुख मालपोत अधिकृत, १ जना मालपोत अधिकृत र १ जना कम्प्यूटर अपरेटर मात्र कार्यालयमा कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्