
काठमाडौं–न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौँ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको छ । क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्का झिकाउने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ । काठमाडौँ जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो ।
यस्तै न्यायपरिषद्को सोमबार बसेको बैठकले तीन मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर र तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गर्ने निणय भएको हो । बैठकले पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको वार्षिक कार्यक्रमबारे गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५÷७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन्द ।
मन्त्रालयमा आव २०७५÷७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबारको बैठकमा उनले भने, “गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।”
सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उनले गृह मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५÷७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताए ।
विषालु च्याउ खाँदा तीनको मृत्यु
विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिनुभयो । घर नजिकै जङ्गलबाट आमा कर्मलीले लिएका च्याउ परिवारका तीन सदस्यले खाएका थिए ।
यही साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो । प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको सोमबार मृत्यु भएको हो ।
उपचारका लागि लैजाँदै गर्दा पुस्कल र सुनिताको बाटैमा मृत्यु भएको थियो भने कर्मलीको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । श्रीमान् अमरसिं बुढाथोकी भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका बताइएको छ ।
नेकपा सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबारको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाकिएको बैठक बिनानिष्कर्ष सकिएको हो ।
मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक सकिएको हो । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले सोमबारको बैठक सकिएको जानकारी दिए । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।
स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताए ।
उनका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकमा पार्टीका सबै केन्द्रीय निकायको एकीकरण र जिम्मेवारीकाबारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।
यसैबीच नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड सो बीचमा विदेश भ्रमणमा जाने भएका छन् ।
तीस गर्भवतीको उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हवाई उद्धारअन्तर्गत ३४ जिल्लालाई समेटेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । चार जिल्लाका आंशिक क्षेत्रबाट गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्ने व्यवस्था मिलाएको छ । हालसम्म ३० गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ ।
पूर्ण हवाई उद्धार कार्यान्वयनमा आएकामा जिल्लामा दार्चुला, बैतडी, बाजुरा, बझाङ, दैलेख, डोटी, अछाम, जाजरकोट, मुगु, कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र रसुवा रहेका छन् । सिन्धुपाल्चोक (पाँचपोखरी, थामपालथाप, हेलम्बु र जुगल गाउँपालिका), धादिङ (रुबीभ्याली गाउँपालिका), गोरखा (सुलिकोट, आरुघाट, सिरानचोक, गण्डकी, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका), बाग्लुङ (ढोरपाटन, गलकोट र जैमुनी नगरपालिका), बढिगाड, निसिखोला, बरेङ, ताराखोला, काँठेखोला, तमानखोला)लाई आंशिक हवाई उद्धार क्षेत्र निर्धारण गरिएको छ ।
मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको परिभाषासमेत गरेको छ । लगातार लामो प्रश्रव व्यथा लागेर बच्चा जन्माउन कठिनाई, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको, रक्तअल्पता भएको गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिनेछ । स्वास्थ्य मन्त्रालले स्वास्थ्य संस्थामा नै महिलालाई गर्भ जाँच र सुत्केरी गराउन उत्प्रेरित गर्न ‘आमा सुरक्षा कार्यक्रम’ सबै जिल्लामा कार्यान्वयन गर्र्दै आएको छ ।
घुससहित नासु र लेखनदास पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो ।
मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
राप्रपा महाधिवेशन जेठमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ महीनाबाट स्थानीय तहदेखिका परिषद् बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको छ ।
समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई पार्टीले स्वागत गर्दै देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्न एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य दललाई बैठकले आग्रह गरेको छ । पार्टीले सरकार समक्ष बुझाएको २२ बँुदे माग पूरा गराउन सरकारसँग चाँडो दोस्रो चरणको वार्ता गरिने जनाइएको छ ।
बैठकले सङ्गठन निर्माण वर्ष २०७६ कार्ययोजना पारित गर्दै भ्रातृ सङ्गठनको अधिवेशन आउँदो वैशाखभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यही साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भदौ महीनाभित्र सम्पूर्ण जिल्लामा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७७ असोजभित्र सबै गाउँपालिका र नगरपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।
सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने बताइएको छ । चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्पयात्रा आगामी आउँदो मङ्सिरको अन्तिम हप्तामा प्रारम्भ गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।
बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्र्माले जानकारी दिए । उनका अनुसार ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १६ हजार २०४ रहेको छ ।
नतिजा अनुसार सबैभन्दा बढी अर्थात् ८६ हजार २२७ विद्यार्थीले २.०१ देखि २.४० जिपिए ल्याएका छन् भने १.६१ देखि २.०० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ६२ हजार ६१९ तथा २.४१ देखि २.८० जिपिए ल्याउने ५६ हजार ५०३ विद्यार्थी रहेका छन् । त्यस्तै ६२ हजार ६१९ विद्यार्थीले १.६१ देखि २.०० जिपिए, १९ हजार विद्यार्थीले १.२१ देखि १.१६० जिपिए, तीन हजार ५२४ विद्यार्थीले ०.८१ देखि १.२० जिपिए र १३ हजार ३६२ विद्यार्थीले ०.८० भन्दा कम जिपिए ल्याएका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कूल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेको र ग्रेडिङ पद्दतिअनुसार नौ तहको ग्रेड अनुसार नतिजा सार्वजनिक गरिएको शर्र्माले बताउनुभयो । ग्रेडवृद्धितर्फ ७८ हजार ७४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । बोर्डले ५७ हजार १७० परीक्षार्थीले आशिंक परीक्षा दिएकामा २३ हजार ९१५ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
श्रेष्ठको मृत्युको घटनाबारे छानबिन गर्न माग
नेपाली काङ्ग्रेसले जिल्ला कार्यसमिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौँको माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा रहस्यमय ढङ्गले मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
श्रेष्ठको मृत्यु हुनासाथ अनुसन्धान नै नगरिकन र शव परीक्षणसमेत नभएको अवस्थामा प्रहरीको हवला दिँदै आत्महत्या हो भनेर सञ्चार माध्यमहरुमा सम्प्रेषित समाचारप्रति काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । काङ्ग्रेसले सोमबार एक विज्ञप्तिमार्फत घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भागमा चोटपटक र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको उल्लेख गरेको छ ।
पार्टीले घटनाको संवेदनशीलताका साथ यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको काङ्ग्रेसले जनाएको छ ।