काठमाडौं – स्विट्जरल्यान्डको एक होटलले भारतीय पाहुनाहरूलाई शिष्ट भएर बस्नका लागि आचारसंहिता जारी गरेको छ ।
होटल जीस्ट्याडले भारतीय पाहुनाहरूलाई सम्बोधन गर्दै नोटिस जारी गरेको हो । नियमहरूको पालना गर्दै होटलमा छुट्टी मनाउन भनिएको छ ।
होटलको म्यानेजर क्रिस्टिन म्याट्टीको हस्ताक्षर भएको नोटिसमा भनिएको छ ः भारतीय पाहुनाहरूले खाजा राखिएको टेबलमा केही पनि उठाएर लग्ने छैनन् र त्यहीँ बसेर खानेछन् । ‘कृपया आफूसँग केही पनि नलग्नुहोला । यहाँको खाना त्यहीँ बसेर खाने हो । तपाईंलाई लन्च ब्याग चाहिएमा सर्भिस स्टाफबाट अर्डर गर्नुस् र त्यसको पैसा तिर्नुस् ।’
नोटिसमा भनिएको छ, ‘अरू पाहुनाहरूले स्वादिष्ट बफेको आनन्द लिन चाहन्छन् । त्यसैले भारतीय पाहुनाहरूले त्यहाँ उपलब्ध भाँडाकुँडाको प्रयोग गर्नुपर्छ ।’
भारतीयहरूलाई हल्लाखल्ला नगर्न पनि चेतावनी दिइएको छ । नोटिसमा भनिएको छ, ‘तपाईं बाहेक संसारभरिबाट पाहुना आएर होटलमा बसेका छन् । उनीहरू पनि शान्ति र आराम चाहन्छन् । त्यसैले कोरिडोरमा शान्ति कायम गर्नुस् र बाल्कोनीमा पनि चर्को आवाजमा कुराकानी नगर्नुस् ।’
यस नोटिसबाट भारतीयहरू असभ्य र सांस्कृतिक रूपमा असंवेदनशील भएको सन्देश जाने भन्दै भारतीयहरूले विरोध गरिरहेका छन् ।
एजेन्सी