२३ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् हेरफेरको हल्लाका बीच ओलीले मन्त्रीहरूसँग गरे योजना कार्यान्वयन सम्झौता

मन्त्रिपरिषद् हेरफेरको हल्लाका बीच ओलीले मन्त्रीहरूसँग गरे योजना कार्यान्वयन सम्झौता

काठमाडौं– मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्षिक योजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार एक कार्यक्रमको आयोजना गरी योजना कार्यान्वयनको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । 

सो क्रममा प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरूबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

'मेरो र मन्त्रीजीहरूको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरू बीचको सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु,” प्रधानमन्त्री ओलीले भने ।

साथै प्रधानमन्त्री ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ,पारदर्शी र गतिशील बनाउन आह्वान पनि गरे ।

'भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सूत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं, मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ,' प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसाथ गर्न पनि आग्रह गरे ।

'हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन शुरू गर्‍यौं भने साउनको शुरूबाट काम गर्न सकिन्छ भन्ने सोचले  हो,' प्रधानमन्त्री ओलीले भने, 'तर पहिलेजस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्‍यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।'

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टचारीहरूका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको समेत बताए । प्रधानमन्त्री ओलीले भने– 'भ्रष्टाचारीहरूलाई मुद्दा चलाइएको छ । कारवाही दृढताका साथ अघि बढाइएको छ ।'

कतिपय बेला संसद्मा प्रतिपक्षीहरूले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, 'हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन । लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ ।'

प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि  बहुमत दिएकोले वर्तमान सरकारले जनताप्रति उतरदायित्व भएर काम गर्ने पनि बताए ।

मन्त्रीहरू परिवर्तन हुने हल्लका बीच प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरेको यस्तो सम्झौताले तत्काल मन्तिपरिषद्मा हेरफेर हुने सम्भावना टरेको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्