
काठमाडौं – चीनमा दुई महिलाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने क्रममा हजारचोटि उठबस गर्ने हुँदा अस्पताल जानुपरेको छ ।
१९ वर्षीया ताङ र उनकी साथीले केही दिनअघि भिडियो कल गरेर उठबसको प्रतिस्पर्धा गरेका थिए । तीन घन्टासम्म उनीहरूले उठबस गरेका थिए ।
त्यसको केही दिनपछि दुवै महिलालाई मांसपेशीमा लागेको चोटपटकका लागि अस्पताल भर्ना गरिएको छ । ताङलाई त आईसीयूमै राख्नुपरेको छ ।
चोङकिङ इभनिङ न्युजका अनुसार, ताङले गुआङदोङमा बस्ने साथीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
जुलाई १० मा ताङ र साथीले भिडियो कल गरेर कसको स्टामिना कति छ भनी हेर्न खोजेका थिए ।
त्यसपछि उनीहरूले एकचोटिमा एक हजार उठबस कसले गर्न सक्छ भनी हेरेका थिए ।
व्यायाम गर्ने बानी आफ्नो नभएपनि हजारचोटि उठबस गर्ने निर्णय तत्कालै लिइएको ताङले बताइन् ।
दुवै साथीले हजारचोटि उठबस गरेको बताइएको छ ।
कठोर शारीरिक व्यायामपछि शुरूका दुई दिन त आफूलाई ठीकै अनुभव भएको तर तेस्रो दिन बिरामी परेको ताङले बताइन् ।
ताङ आफ्ना प्रेमीका साथ अस्पताल गइन् । उनको गोडा बेस्सरी दुखेकाले प्रेमीले बोकेर लग्दा पनि गाह्रो परेको बताइन् ।
पछि उनलाई राबडोम्यालाइसिस नामक मांसपेशीको चोटपटक लागेको पत्ता लाग्यो ।
यो लागेपछि मांसपेशीहरू घाइते हुन्छन् र तिनले रक्तप्रणालीमा मसल एन्जाइम पठाउँछन् जसले गर्दा मृत्यु पनि हुन सक्छ ।
ताङकी साथीलाई पनि त्यही रोग लागेर अस्पताल पुर्याउनुपरेको थियो ।
ताङलाई अस्पतालमा १० दिन राखेपछि निकै सञ्चो भएको छ ।
एजेन्सी