काठमाडौं – भारतीय जनता पार्टीका नेता रञ्जित श्रीवास्तवले गाईहरू हिन्दू भएकाले उनीहरूलाई मुसलमानी संस्कार अनुसार गाड्न नहुने बताएका छन् ।
भारतको उत्तर प्रदेशमा रहेको बाराबंकीका नेता श्रीवास्तवले नगरपालिकाको बोर्ड बैठकमा मृत गाईको शरीर गाड्न नहुने बताएका हुन् ।
मरेपछि गाड्ने काम मुसलमान रीतिरिवाज भएको भन्दै श्रीवास्तवले मृत गाउँका लागि विद्युतीय शवदाह आवश्यक भएको बताए ।
उनले भने, ‘गाईको अन्तिम संस्कार हिन्दू रीतिरिवाज अनुसार गर्नुपर्छ । मरेका गाईलाई गाड्ने कामको म विरोध गर्छु ।’
मरेका गाईलाई सेतो कपडामा बाँध्ने अनि परम्परागत हिन्दू चितामा राख्नुपर्ने उनले प्रस्ताव गरे ।
‘म उत्तर प्रदेशका मुख्यमन्त्री योगीजीलाई यस विषयमा विचार गर्न अनुरोध गर्छु । म नगरपालिकाको पूर्व अध्यक्ष र बहालवाला अध्यक्षको पति हुँ । त्यसैले म बैठकका यो प्रस्ताव पारित गराउन भरिसक्दो प्रयास गर्छु ताकि बाराबंकीमा गाईहरूको शवदाहगृह बनोस्,’ श्रीवास्तवले भने ।
एजेन्सी