
डोटी–जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिएका हुन् । उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो ।
त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट वडाध्यक्ष र वडासचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।
वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुनसक्ने आशङ्का गरेपछि प्रहरीले मोबाइल र वडाध्यक्षको भनाइलाई आधार मानेर पक्राउ गरेको बताइएको छ । त्यस्तै गएको जेठको १४ गते राति बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरूपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताए ।
विप्लव समूहले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाध्यक्ष किटानी जाहेरी दिन लागिपरेका छन् ।
जिल्लामा रहेका स्थानीय तहका वडा कार्यालयमा सो पार्टीको संलग्नतामा नै आगजनी हुने गरेको निष्कर्ष निकाल्दै यहाँका जनप्रतिनिधि विप्लव समूहसँग आक्रोशित हुन थालेको स्थानीयवासी बताउँछन् ।