०७ असार २०८३, आइतबार

चोरीका घटनामा बालकको संलग्नता

चोरीका घटनामा बालकको संलग्नता

नेपालगञ्ज – एकैरात नेपालगञ्जका ९ पसलमा २ बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा बुधवार राति कालु र दामु नामका बालकले चोरी गरेका थिए ।

बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

नेपालगञ्जका ९ वटा पसल र आसपासमा शृंखलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२० स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि शृंखलाबद्ध चोरीमा संलग्न उनीहरू चोर्न सिकाउने गुरुसमेत रहेको रहस्य खुलेको छ । 

दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । ९ वटा सटरमध्ये ३ वटाबाट १ लाख २० हजार रुपैयाँका साथै ३ हजार ५ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो  । कालु यसअघि ६ पटक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए ।

‘चोरीमा बालक पक्राउ पर्छन् । कम उमेर भन्दै छोडिन्छ तर फेरि चोरी गर्न पुग्छन्,’ मल्लले भने, ‘उमेर कम छ । प्रहरीले छोडिहाल्छ भन्दै धेरैले चोरीलाई नै अँगालेको पाइयो ।’

कालुको साथबाट १६ हजार रुपैयाँ र चोरी गरिएका कपडा बरामद गरिएको थियो । दामुको साथबाट पनि १६ हजार १५५ रुपैयाँ फेला परेको थियो । ‘विभिन्न नाममा चोरी गर्ने समूह नै परिचालन भएकाले सबैलाई खोजेर  बिस्तारै सबैलाई नियन्त्रणमा लिन्छौं,’ उनले भने ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर वलीले दामु व्यावसायिक चोर भएको र उनले धेरै ठाउँ चोरी गरिएको भेटिनाका साथै उनीहरूको समूहमा तालिमप्राप्त चोर रहेको प्रमाण प्राप्त भएको बताए । चोरीमा बालकको विभिन्न समूह रहेको र टोली नेताको थरअनुसार समूहको नामकरण गर्ने गरिएको रहेछ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधारगृहमा पठाउने तयारी गरेको छ । 

चोरीमा लागेका अधिकांश बालक बुबाआमा गुमाएका, बाबुआमा भएपनि विदेशमा रहेका र आमा अर्कैसँग विवाह गरी हिँडेको परिवारका छन् ।

कमेन्ट गर्नुहोस्