
बुटवल – विश्वकै धेरै जनसंख्या र बलियो अर्थतन्त्र भएको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा लगानी र पर्यटक भित्र्याउन संघीय, प्रदेश र स्थानीय सरकारहरूले सार्थक पहल गर्नुपर्नेमा विभिन्न क्षेत्रका अगुवाले जोड दिएका छन् ।
नेपाल–चीन दौत्य सम्बन्धको ६४औं वर्षगाँठका अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उनीहरूले तीनवटै तहका सरकारले पहल गरेमा चीनबाट लगानी र पर्यटक भित्रिने धारणा राखे ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले चीनको कुसल नेतृत्व, चिनियाँ जनताको परिश्रम, देशभक्ति र अनुशासनबाट नेपालीले पाठ सिकेर व्यवहारमा अनुशरण गरेमा देशले छिट्टै समृद्धि हाँसिल गर्न सक्ने बताए ।
उनले भैरहवाको डण्डा कोरिडोरलाई पर्यटकीय स्थल बनाउन नगरपालिकाले चिनियाँ पक्षसँग छलफल गरिरहेको बताए । समग्र लुम्बिनी क्षेत्रलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्नसके चिनियाँ पर्यटकको आगमन बढ्ने उनको भनाइ थियो ।
नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, धार्मिक, समाजिक र आर्थिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दौत्य सम्बन्ध स्थापना भएको ६४औं वर्षगाँठका अवसरमा चिनियाँ जनता, चिनियाँ राष्ट्रपति र सरकारलाई शुभकामना व्यक्त गरे ।
उनले लुम्बिनी क्षेत्रको पर्यटन र आर्थिक विकासमा भूमिका खेल्ने एवं जीनसँग जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २००२ मा नेपाल चीनमैत्री समाज लुम्बिनीको स्थापना भएको बताए । साथै उनले चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल जतिसक्दो छिटो जोडिनुपर्नेमा जोड दिँदै त्यसबाट नै चिनियाँ पर्यटकको आगमन बढ्ने बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले नेपाली जनता र उद्योगी व्यवसायीहरू चीनसँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको बताउँदै चीनले नेपालसँग नाकाहरू खोल्नुपर्ने र नेपालमा लगानी बढाउनुपर्ने धारणा राखे । त्यसका लागि नेपालका तीनवटै तहका सरकारको परिपक्व पहल हुनुपर्नेमा जोड दिए ।