
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको समूहले हतियार व्यापारीलाई उत्साहित गराएको आरोप लगाएका छन् ।
आइतवार सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले धमिलो पानीमा माछा मार्दै हतियार व्यापारीलाई उत्साहित गराएको भन्दै विप्लव समूहलाई तत्काल हिंसा छाडेर वार्ताको टेबलमा आउन आग्रह गरेका हुन् ।
'यो बाटोले जनताले दुख पाउने, देशको अन्तर्राष्ट्रिय छबी बिग्रने बाहेक केही गर्दैन,' बास्कोटाले भने, 'यस्ता क्रियाकलापले हतियार व्यापारीलाई उत्साहित गराएको छ ।'
विप्लव समूहभित्रभित्रै संकट पैदा भइसकेको भन्दै विप्लव समूह धेरै समय नटिक्ने बास्कोटाको दाबी थियो । 'भित्रै संकट पैदा भइसक्यो, गलत बाटो हिंडेपछि यस्तो हुन्छ,' बास्कोटाले भने, 'जो निद्राबाट उठ्छ, त्यो फेरि भीरको बाटो बाटो हिंड्दैन । हामीले वार्तालाई सधैं स्वागत गरिरहेका छौं ।'
विप्लव समूहले देखिने गरेर गल्ती गरेपछि सरकारले पनि देखिने गरेर नै प्रतिबन्ध गरेको बास्कोटाले दाबी गरे ।