पोखरा – उपल्लो मुस्ताङसँग जोडिएको कोरला नाका खोल्न चीनले पुनः चासो देखाएको छ ।
यही विषयमा गण्डकी प्रदेश सरकार र चिनियाँ प्रतिनिधि आइतबार पोखरामा छलफलमा जुटे । प्राध्यापक वाई ड्युङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले नाका खोल्ने सम्भावनासँगै यसबाट बढ्न सक्ने आर्थिक र धार्मिक गतिविधिबारे चासो राखेको थियो ।
जवाफमा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाइसकिएको जानकारी गराए । उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रूपमा दुवै देशले फाइदा लिन सक्ने भन्दै चिनियाँ पक्षको ध्यानाकर्षण गराए ।
सडक ट्र्याक बनिसकेको र भौगोलिक रूपमा काठमाडौं र लुम्बिनीसँग नजिक रहेकाले नाकाबाट व्यापारिक र धार्मिक रूपमा फाइदा पुग्ने उनको भनाइ थियो । लिउले नेपाली पक्ष सहमत भए नाका खोल्नेबारे चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताए ।
कान्तिपुर दैनिक लेख्छ – छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले यो नाकाबाट छोटो दूरीमा भारतीय नाकासमेत जोडिने भएकाले त्रिदेशीय व्यापारिक गतिविधि बढाउन मद्दत गर्ने धारणा राखे । चीनसँग व्यापार सहज हुने भन्दै गण्डकी प्रदेशले कोरला नाका खोल्न संघीय सरकारलाई आग्रह गरेको छ ।
यसअघि सन् २००३ डिसेम्बरमै दुई देशबीच उक्त नाका सञ्चालनमा ल्याउने सम्झौता भए पनि असुरक्षाको कारण देखाउँदै चीनले तारबार लगाएर बन्द गरेको छ ।
यही नाका आसपास विगतमा खम्पा विद्रोह भएको र ‘फ्री तिब्बत’ पक्षधर आवतजावत गर्न सक्ने भन्दै चीनले संवेदनशील रूपमा लिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री भने कुनै असुरक्षा नरहेको दाबी गर्छन् । ‘सीमा सुरक्षाका विषयमा बेलाबेला समकक्षीबीच भेटघाट हुन्छ,’ उनले भने, ‘उच्च सुरक्षा प्रबन्ध, सीसी क्यामेरालगायतले गर्दा पहिलेजस्तो समस्या छैन ।’
पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै ४ हजार ६ सय ५० मिटर उचाइको कोरला नाका पुग्न सकिन्छ । नाकाबाट ३० किमि पार गरेपछि ढोङासेन पुगिने र त्यहाँबाट केही पर सिगात्सेसँग जोडिने चाइना नेसनल हाइवे भेटिने भएकाले गण्डकी प्रदेशका लागि उत्तरी सम्पर्कको उपयुक्त मार्ग हुने देखिन्छ ।
कोरला पोखरादेखि २ सय ५५ किलोमिटर मात्रै पर्छ । यहाँ २४ नं सीमास्तम्भले नेपाल र चीनको भूगोललाई छुट्याएको छ । नेपालतर्फ कुनै पूर्वाधार नबने पनि चीनले आफ्नातर्फ भव्य भन्सार कार्यालय ठड्याइसकेको छ । चीन सरकारले ठाउँ–ठाउँमा सोलार प्यानल जडान गरी त्यसैबाट सञ्चालन हुने सीसीटीभी र अन्य उपकरण जडान गरेको छ । पोखरासहित आसपास क्षेत्रको पर्यटकीय विकासका लागि पनि नाका खुलाउनुपर्ने भन्दै पछिल्लो समयमा पर्यटन क्षेत्र सम्बद्ध निकायसमेत छलफलमा जुटिरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।