काठमाडौं – भारतको जम्मु–कश्मीर डर र अनिश्चितताको भुमरीमा रुमल्लिएको छ । अतिरिक्त सुरक्षाबल तैनाथ गरिएपछि मानिसहरू सडक र बजारमा भेला हुन छोडेका छन् । राज्य प्रशासनले धारा १४४ लगाएको छ ।
कश्मीरको विषयमा चर्चा गर्नका लागि केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३५क लाई खारेज गर्ने पृष्ठभूमि तयार पार्न लागिएकोले सन् १९९० पछिकै सबभन्दा ठूलो फौज तैनाथी गरिएको हो भनी हल्ला व्यापक चलेको छ ।
यसैबीच जम्मु–कश्मीरका विपक्षी नेताहरू उमर अब्दुल्लाह, मेहबूबा मुफ्ती र सजाद लोनलाई आइतवार मध्यरात घरैमा नजरबन्द गरिएको छ ।
श्रीनगरका जवाहरनगर, राज बाग र करण नगर क्षेत्रहरूमा अधिकांश पसल आइतवार दिनभरि बन्द भए जबकि बकरीद आउन एक हप्ता मात्र बाँकी छ । केही मानिस मात्र फाट्टफुट्ट बजारमा देखिए र तिनीहरू पनि लामो समयको अनिश्चितताको आशंकामा आवश्यक समानको जोहो गर्न मात्र निस्केका थिए । पेट्रोल पम्पहरूमा लामो लाइन लागेका कारण पेट्रोलको हाहाकार भएको छ ।
राज्य प्रशासनले सोमवार कर्फ्यु लगाउने योजना बनाइरहेको भनी अपुष्ट समाचारहरू आएपछि मानिसमा त्रास फैलिएको छ । प्रहरी र अर्धसैनिक बललाई कश्मीर उपत्यकामा उच्च सतर्क अवस्थामा राखिएको छ । आइतवार प्रहरी चौकीहरूलाई स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।
आधिकारिक स्रोतहरूले भने पाकिस्तानको जासूसी संस्था आईएसआईले पृथकतावादी शक्तिहरूको मनोबल घट्दै जाँदा उनीहरूलाई उत्तेजित बनाउन आतंकवादी गतिविधिमा वृद्धि हुने सूचना पाइएकाले सुरक्षा बलको संख्या बढाइएको बताएका छन् ।
एजेन्सी