
काठमाडौं – लामो समयदेखि अवरुद्ध संसद सुचारु गर्ने विषयमा सहमति जुटाउन संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बसिरहेको छ ।
सभामुख कृष्णबहादुर महराको आह्वानमा बसेको बैठकमा सत्तारुढ नेकपाका सुवास नेम्वाङ, नपाली कांग्रेसका विजयकुमार गच्छदार, समाजवादी पार्टीका डा. बाबुराम भट्टराई लगायत नेताहरू सहभागी छन् ।
सहमतिको प्रयास स्वरुप सोमवार बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर बैठक १ बजेसम्मका लागि सारिएको छ । सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले छलफल सकारात्मक बन्दै गएको बताएका छन् ।
यसअघि गत बिहीवार दिउँसो बस्ने भनिएको बैठक सूचनामार्फत नै सोमवार सम्मको लागि सारिएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा बालकको मृत्युको विरोध गरिरहेका स्थानीयमाथि प्रहरी दमनका क्रममा स्थानीय सरोजकुमार सिंहको मृत्यु सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आइरहेका छन् ।
अपवादको रुपमा साउन ८ गते जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल भएपनि कांग्रेस र राजपाको विरोधका कारण संसदको बैठक असार २४ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।