
मुग्लिन– चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ ।
सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो ।
वन जंगल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता स्वरूप मासिक रु २०० उपलब्ध गराउँदै आएको सो सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताए ।
वि.सं. २०६७ देखि नै यहाँका ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप वनले सो रकम उपलब्ध गराउँदै आएको उनले बताए ।
सो वनले एकल महिला र पुरुषलाई पनि मासिक रु २०० भत्ता रकम वितरण गर्दै आएको छ । अध्यक्ष मगरका अनुसार २०७५/७६ मा ३६ जना ज्येष्ठ नागरिक, एकल महिला र पुरुषलाई भत्ता रकम वितरण गरेको छ ।
रानीखोला सामुदायिक वन उपभोक्ता समितिले सुत्केरी भत्ता पनि उपलब्ध गराउँदै आएको छ । दुई बच्चा जन्माउनसम्मका लागि रु एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ ।
दुईभन्दा बढी बच्चा जन्माउनेलाई भने भत्ता दिने गरेको छैन् ।
समितिले समूहमा आवद्धको जीविकोपार्जनदेखि वन र वन्यजन्तु संरक्षणको काम पनि गरिरहेको छ । जिल्लाको वरण्डाभार क्षेत्रका वनमा साझा संस्थामा रहेको १७ वन समूहमध्ये रानीखोला सामुदायिक वन समूह पनि एक हो ।
वन संरक्षणमा लागेवापत समितिलाई ४३ वटा भैंसी अनुदान प्राप्त भएको थियो । वरण्डाभार संरक्षित वन परिषद् कोषबाट प्राप्त भैँसी जीविकोपार्जनका लागि वन समूहका सदस्यलाई वितरण गरिएको अध्यक्ष मगरले बताए ।
विसं २०५८ मा स्थापना भएको रानीखोला सामुदायिक वन उपभोक्ता समिति विसं २०६७ मा समुदायलाई हस्तान्तरण गरिएको हो । हाल समितिमा १५८ घरधुरी आवद्ध छन् ।