२१ जेठ २०८३, बिहीबार

मुसलमान जनताका हिन्दू शासक, यस्तो छ कश्मीरको पेचिलो इतिहास

मुसलमान जनताका हिन्दू शासक, यस्तो छ कश्मीरको पेचिलो इतिहास

काठमाडौं – कश्मीर भारत र पाकिस्तानबीचको झगडाको कारणका रूपमा प्रख्यात छ । इतिहासका पाताहरू पल्टाउँदा कश्मीरको कथामा अनेकौं मोड आएको भेटिन्छ । 

कुनै समयमा यस मुलमानबहुल राज्यमा हिन्दू राजा हरि सिंहको दबदबा थियो । उनी यस राज्यलाई पाकिस्तान र भारतभन्दा फरक देश बनाउन चाहन्थे । 

तर परिस्थिति उनले सोचेको जस्तो नभएपछि उनले कश्मीर भारतमा पारे । 

जम्मु तथा कश्मीर राज्य ८६ हजार २४ वर्ग माइलको क्षेत्रफलमा रहेको छ । सन् १९४७ मा भारत विभाजन भएर पाकिस्तान बनेपछि कश्मीरकै कारण दुई देशबीच दुश्मनी कायम छ । 

राजा हरि सिंहले भारत स्वतन्त्र हुँदा कश्मीर स्ट्यान्ड स्टिल बस्ने घोषणा गरेका थिए । यस घोषणाको अर्थ हुन्थ्यो– कश्मीर भारत वा पाकिस्तान कुनैको पनि अंग हुने छैन । 

हरि सिंह राज्यलाई स्वतन्त्र देश घोषणा गर्ने योजना बनाइरहेका थिए । उता पाकिस्तानले कश्मीरका विषयमा दबाब बढाउँदै थियो । कश्मीर कब्जा गर्नका लागि कबिलाहरूलाई उसले अघि बढ्न आदेश दिएको थियो । कबिलाहरूले कश्मीरमा उत्पात मच्चाउँदै बिजुली, सडक र आधारभूत आवश्यकतालाई नष्ट गरेर कश्मीरको शान्ति भंग गरिदिए ।

स्वतन्त्रता प्राप्तिकै वर्ष लर्ड माउन्टबेटन कश्मीर गएका थिए । उनले राजा सिंहलाई भारत वा पाकिस्तानमा गाभिन सुझाव दिएका थिए । तर हरि सिंह मानेनन् । 

उता भारतका तत्कालीन गृहमन्त्री सरदार वल्लभभाई पटेलले माउन्टबेटनलाई कश्मीर पाकिस्तानमा गाभिन चाह्यो भने पनि समस्या नरहेको बताए । तैपनि हरि सिंहले निर्णय लिन सकेका थिएनन् र तनाव बढिरहेको थियो । 

पाकिस्तानले राजा हरि सिंहलाई गाभिनका लागि अनेकौं प्रलोभन दिएको थियो । पाकिस्तानको इच्छा पूरा नभएपछि नर्थ वेस्ट फ्रन्टियर प्रोभिन्सबाट पाकिस्तानले सन् १९४७ को अक्टोबर २२ मा विद्रोह शुरू गरेको थियो । पाँच दिनमा पाकिस्तानी सैनिकहरू श्रीनगरभन्दा २५ माइलको दूरीमा आइपुगे । 

पाकिस्तानको आक्रमण राजा हरि सिंह एक्लैले सम्हाल्ने स्थिति थिएन । उनले तत्कालै प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेटे । कुराकानीपछि उनले विलय पत्र अर्थात् इन्स्ट्रुमेन्ट अफ एक्सेसनमा हस्ताक्षर गरे । 
हरि सिंहले सहायता मागेपछि भारतीय सैनिक कश्मीर पुगे र नरसंहार रोक्न सफल भए । 

पाकिस्तानी सैनिकहरूको स्थिति बलियो भए पनि भारतीय सैनिकहरूले उनीहरूलाई लखेटे । कश्मीरको मुजफ्फराबादलाई पाकिस्तानले हत्यायो । त्यसपछि नै दुई देशबीच शत्रुताको आधारशिला राखियो । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जम्मु–कश्मीरलाई विवादित क्षेत्र मान्दै जनमत संग्रह गराउने कुरा झिक्यो । दुई देशका सेनालाई हटाउने कुरा पनि उठ्यो तर दुवै देश हट्न मानेनन् ।

त्यसपछि नै कश्मीरका विषयमा भारत र पाकिस्तानले तीनवटा युद्ध लडिसकेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्