
बुटवल - प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग सोमबार चिनियाँ बीआरआई बीज्ञ टोलीले भेट गरी बीआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदाबारे छलफल गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को बीशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै बीआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए ।
उनले नेपालमा बीआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताए ।
उनले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क बीन्दु हुन सक्ने बताए । उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने बताए ।
चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले बीआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्यमन्त्रीसँग जानकारी लिएको थियो ।
प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिए । बीआरआई परियोजना मार्फत चीनले आफूसँगैं छिमेकको बीकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताए ।