काठमाडौँ - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दुई ठाउँमा हिजो भएको गोलीकाण्डमा २९ जनाको मृत्यु भएपछि अमेरिकामा घृणाका लागि कुनै ठाउँ नभएको दाबी गरेका छन् ।
अमेरिकामा टेक्सास प्रदेशको अलपासो सहरमा भएको गोलीबारीमा २० जनाको मृत्यु भएको थियो भने ओहायो प्रदेशको डेटन सहरमा भएको गोलीबारीमा ९ जना मारिएका थिए ।
यी दुवै घटनापछि राष्ट्रपति ट्रम्पले यस्ता गोलीकाण्डहरू रोक्न ठूलो कदम अपनाउन जरूरी भएको बताएका छन् ।
उनले भने, 'हाम्रो देशमा घृणाका लागि कुनै स्थान छैन । यस्ता गोलीकाण्डहरू वर्षौंदेखि चल्दै आइरहेका छन् र हामीले यसलाई रोक्नुपर्छ ।'
ट्रम्पले दुवै घटनालाई जोड्दै भने, 'यदि तपाईं दुईवटै घटनालाई नजिकबाट हेर्नुभएको छ भने यो एकप्रकारको मानसिक बिमारी हो । यस्ता घटना घटाउनेहरू गम्भीर रूपबाट मानसिक रोगी भएका छन् ।'
एजेन्सीको सहयोगमा