
काठमाडौँ - आफ्नो नियुक्तिको दुई महिनामै यौन शोषणका २ सय भन्दा बढी केसमा जाँच गरेकी पाकिस्तानकी महिला थानेदार कुलसुम फातिमा आजकल पाकिस्तानी मिडियामा चर्चाको शिखरमा छिन् ।
कुलसुम पाकिस्तानको पन्जाब प्रान्तको पाकपत्तन जिल्लाकी महिला थानेदार हुन् ।
बीबीसीलाई दिएको एक अन्तर्वार्तामा कुलसुमले भनिन्, 'नाबालिकाहरूलाई यौनशोषण गरेका घटनाहरूले मलाई घृणा र रिस पैदा गर्छ । मैले पहिला पनि सोच्ने गर्दथें कि मैले निर्दोष नाबालिकाहरूका लागि केही गर्न पाउँ ।'
'प्रतियोगी परीक्षा पास गरेर पन्जाब पुलिसमा सब-इन्स्पेक्टर बनेपछि मलाई यो मौका आयो,' उनले भनिन्, 'मैले जे जिम्मेवारी चाहेकी थिएँ त्यही पाएपछि मलाई धेरै खुशी लाग्यो ।'
कुलसुमलाई महिलासम्बन्धी मामिला दिइएको छ । त्यही कारणले उनले तीव्र गतिमा यस्ता घटनाहरूका पीडितलाई न्याय दिने काम गरिरहेकी छिन । उनलाई 'लेडी सिङ्घम'का रूपमा चिन्न थालिएको छ ।