०६ असार २०८३, शनिबार

वायुसेवा निगमको सञ्चालन घाटा ९ करोड

साउन २१, २०७६
वायुसेवा निगमको सञ्चालन घाटा ९ करोड
फाइल फोटो

काठमाडौं – सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानि) ले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो ।

त्यसअघिको आर्थिक वर्ष २०७३/०७४ मा भने निगमले २४ करोड २६ लाख रुपैयाँसञ्चालन नाफा गरेको थियो ।

कान्तिपुर दैनिक लेख्छ – आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले ०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड नाघ्ने जनाएको छ । 

निगमले ०७४/७५ मा यात्रु सेवाको व्यापार (टिकट) बाट मात्रै ४ अर्ब ७० करोड आम्दानी गरेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा १४ करोड बढी थियो ।

यात्रु, कार्गो, एक्स्ट्रा ब्यागेज, चार्टर उडान, बिमा, इन्टरलाइन कमिसन, एयरक्राफ्ट ह्यान्डलिङलगायत हवाईजहाज सेवासँग सम्बन्धित सञ्चालनबाट मात्रै निगमले १० अर्ब ७८ करोड आम्दानी गरेको थियो । यो रकममा निगमले काठमाडौंमा २ दर्जनभन्दा बढी स्वदेशीरविदेशी एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ (भूमीस्थ सेवा व्यापार) सेवासहितको आम्दानी समेटिएको छ । ग्राउन्ड ह्यान्डलिङतर्फ निगमले ४ अर्ब ५ करोड आम्दानी गरेको थियो ।

ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानी घटाउने हो भने निगमको सञ्चालन घाटा मात्रै कम्तीमा ४ अर्ब १४ करोड पुग्छ । ‘ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीले भरथेग गरेको छ, सरकारले निगमको एकाधिकार तोडेर सेवामा प्रतिस्पर्धा गराउने नीति लिए निगम बन्द हुन्छ,’ निगमका एक निर्देशकले भने ।

चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमले ०७४ साउन १ देखि ०७५ असार ३२ सम्म अन्तर्राष्ट्रिय हवाई सेवातर्फ टिकट सहितको ६ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्