२८ जेठ २०८३, बिहीबार

देशकै धेरै भ्रष्टचार हुने जिल्लामा कास्की पहिलो नम्बरमा

देशकै धेरै भ्रष्टचार हुने जिल्लामा कास्की पहिलो नम्बरमा
फाइल फोटो

कास्की- गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो ।

आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४/७५ मा १४८ र २०७५/७६ मा २८१ गरी ४२९ उजुरी छन् । त्यसपछि पर्वतमा ८२ र तनहुँमा ७९, स्याङ्जामा ६४ उजुरी छन् । सबैभन्दा कम मनाङ रहेको छ जहाँ एक मात्र उजुरी परेको छ । आयोगले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्ने गरेको छ । उजुरीको फछ्र्योट सङ्ख्या ५६३ रहेको छ ।

मन्त्रालयगत तथ्याङ्कमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र ३०४ उजुरी परेको देखिएको छ । त्यसपछि दोस्रो स्थानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा २०५ उजुरी परेका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा ५६ उजुरी रहेको छ । कानून न्याय, सामाजिक विकासमा भने एक मात्र उजुरी देखिएको छ ।

गत आर्थिक २०७५/७६ मा ११ लाख २३ हजार रकमसहित छ ‘स्टिङ अपरेशन’ भएको आयोग पोखरा कार्यालय उपसचिव एव सूचना अधिकारी मेघनाथ रिजालले जानाकारी दिए । ६७ उजुरीहरुउपर विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सरकारी कर्मचारीले अतिरिक्त लाभबिना सेवा दिन आनाकानी गर्ने, राजश्व चुहावट गर्ने, झुट्टा कागजात तयार गरी सरकारी कागजात छेडछाड गर्ने, अवैधानिक व्यापार व्यवसायमा सहभागी हुनुले सुशासन कायम हुन नसकेको रिजालको भनाइ छ । यसअघि शिक्षासम्बद्ध मन्त्रालयमा धेरै भ्रष्टाचार हुने गरेको थियो भने स्थानीय तहमा जनप्रतिनिधि आएपछि सङ्घीय मामिलामा भ्रष्टाचार बढेको देखिएको रिजालले बताए। 

यातायात कार्यालय, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, स्थानीय तहजस्ता आम नागरिकको प्रत्यक्ष सरोकारका निकायहरुमा बढी भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । बढी भ्रष्टाचार हुनेमा दक्षिण एशियाली आठ मुलुकमध्ये नेपाल पाँचौँ स्थानमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्