काठमाडौं, चैत १३– स्थानीय चुनावको घोषणासँगै नुवाकोटको तारकेश्वर गाउँपालिकामा स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरु भेटघाट र छलफलमा व्यस्त हुन थालेका छन् ।

पहिले गाउँ विकास समिति (गाविस)हुँदा सोहि गाविसको अध्यक्षमा लड्न चाहना राख्नेहरु अहिले सिधै गाउँपालिकाको अध्यक्षमा दावा गर्दै हिँडिरहेका छन् ।
साविकका गाविसहरु गोस्याङ, बुधसिङ, तारुका, दाङसिङका साथै खड्कभञ्च्याङका १,२ र ३ ओटा मिलेर बनेको तारकेश्वर गाउँपालिकाको प्रमुखमा कसले बाजी मार्ला भनि अहिले गाउँ, बस्ती, मेलापातदेखि चौतारी र चिया पसलसम्म चर्चा हुने गरेको छ ।
गाउँपालिकामा नेपाली कांग्रेसबाट तारुकाका विणारत्न शाक्य, शिव अधिकारी र बुधसिंका गोविन्द शर्माको नाम चर्चामा छ । यस्तै गोस्र्याङका अशोक तामाङ र केशव अर्यालले पनि गाउँपालिकाको प्रमुखमा आफ्नोमा दाबेदारी प्रस्तुत गरेका छन् ।
यस्तै एमालेबाट भने तारुकाका सम्मर आलेमगर र दाङसिङका हरी अधिकारी लगायतले प्रमुखमा दाबेदारी प्रस्तुत गरेको भनिए पनि गोस्र्याङकी उषाकिरण तिम्सेनाले प्रमुखमा बाजी मार्ने सम्भावना देखिएको छ ।
कुनै बेला एमाले विद्यार्थी संगठन अखिलको केन्द्रीय सचिवालय सदस्य रहेकी उनी एमाले जिल्ला कमिटी सदस्य हुन्। तिम्सेना राम्रो वैचारिक वक्ताका रुपमा चिनिन्छिन्।
६२–६३ को जनआन्दोलनमा राजधानीमा सकृय तिम्सेना प्रतिगमन विराधी आन्दोलनका क्रममा १ महिना भक्तपुरको बन्दीगृहमा थुनिएकी थिइन्।
यस्तै एमालेबाटै गाउँपालिकामा रामहरि न्यौपाने, विष्णु तारुकेलगायतले समेत दाबेदारी देखाएको बताइएपनि अन्तिम समयमा उनीहरु वडातिर लड्ने गरी सहमतिमा आउने बुझिएको छ ।
यस्तै माओवादी केन्द्रबाट गाउँ पालिकामा हरी रिमाल, राजेन्द्र न्यौपानेलगायतको चर्चा छ।
७२.६२ वर्गमिलोमिटर क्षेत्रफल र १५ हजार बढी जनसंख्या भएको यो गाउँपालिकामा मिश्रित जातजातीको बसोबास रहेको छ ।
बैशाख ३१ गते हुने भनिएको चुनावमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ ।