
काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद (एनसीसी) युएईको अधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ ।
युएईको कानूनलाई देखाएर अधिवेशन रोक्ने प्रयास भइरहेको एनआरएन युएईका एक पदाधिकारीले बताए । यसअघि संघले आगामी अगस्ट १६ तारिखका दिन अधिवेशनको मिति तोकेको थियो ।
संघको फुजेरा, रासअल खेमाह, अज्मान, शारजाह र अबुधाबी क्षेत्र गरेर ५ क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । ५ क्षेत्रमा सम्पन्न अधिवेशनले १३ सय २५ सदस्य सहित १ सय ३२ जना पार्षद छनोट गरिसकेको छ ।
स्रोतका अनुसार एनआरएन युएईका वर्तमान अध्यक्ष रमेश श्रेष्ठ सिडिएको (कम्युनिटी डेभलपमेन्ट अथोरिटी) निर्देशन अनुसार अधिवेशन गर्न नसकिने भन्दै पछि हटेका छन् ।
सिडिए दुबईको सरकारी निकाय हो । एनआरएन युएई गत मार्च महिनामा 'नेपाल एसोसियसन'को नाममा दुबईमा दर्ता भएको छ भने दुबईमा दर्ता भएपश्चात दुबईको कानून अनुसार अधिवेशन गर्न असम्भव रहेको भन्दै श्रेष्ठले यही कार्यसमितिलाई दोहोर्याउनुपर्ने धारणा आफ्ना निकटस्थसँग राख्ने गरेका छन् ।
चौतर्फी दबाब बढेपछि सहमतिमा श्रेष्ठले अध्यक्ष पद छोड्ने बताएका थिए । अधिवेशन भएमा अध्यक्षका अर्का प्रत्यासी प्रकाश कोइरालाले जित्ने पक्कापक्की भएपछि श्रेष्ठ अधिवेशन नै नगर्ने गरी अघि बढेको श्रोतको दाबी छ ।
श्रेष्ठकै आग्रहमा मंगलबार (आज) बेलुकी आकस्मिक बैठक डाकिएको छ । बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गर्नसक्ने वर्तमान कार्यसमितिका एक पदाधिकारीको दाबी छ ।
अधिवेशन नभएमा के हुन्छ ?
अधिवेशन नभएको अवस्थामा विधानअनुसार विशेष समितिले वर्तमान कार्यसमितिको जिम्मेवारी लिनेछ भने कार्यसमिती स्वतः खारेज हुनेछ ।
विशेष समितिले अर्को मिती तोकेर अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नेछ । २ वर्ष भित्र अधिवेशन गर्न नसकेको अवस्थामा विशेष समिति सक्रिय हुने विधानत व्यवस्था छ ।
त्यस्तो अवस्थामा नेपाल एसोसियसन युएई एनआरएनबाट अलग्गिनेछ ।