
काठमाडौँ - गोदावरी नगरपालिका–४ बडिखेल वनमा तपेश्वर महादेवको ५५ फिट अग्लो धातुको मूर्ति निर्माण गरिने भएको छ । बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तपेश्वरमा महादेव परिसरमा मूर्ति निर्माण गरिन लागेको हो ।
नेपाल र भारतका कालीगढले मूर्ति निर्माण गर्ने गोदावरी–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए । बडिखेलमा तपेश्वर महादेवसँगै सेतो गणेश, सेतीदेवी, कुमारी, राम मन्दिर, धनेश्वर महादेव, कृष्ण मन्दिरलगायत संरचना निर्माण गरिएका छन् ।
सो वडाले वृक्षरोपणको कामसमेत अघि बढाएको छ । बडिखेलका पहरी जातिले तपेश्वर महादेवको हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन पूजा गरी बत्ती बाल्ने परम्परा छ । फुल्चोकी पहाडको पश्चिम भागमा तपेश्वर महादेवको ककारो अवस्थित छ ।
कोड्कु खोलाको दायाँतर्फ तपेश्वर महादेवको दर्शन गर्न पाइन्छ । तपेश्वरको बायाँपट्टि बाख्रे ओडार छ । घाँस दाउरा गर्न जानेहरु उक्त ओडारमा घामपानी छल्छन् । तपेश्वरमा बाघे ओडार पनि छ । स्थानीय ७० वर्षीया सरस्वती आचार्य घरमा गाई ब्याउँदा तपेश्वर महादेवलाई दूध चढाएर मात्र खाने चलन रहेको बताउँछन् ।
तपेश्वर वनमा बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरसमेत देख्न पाइन्छ । दुई दशकअघि तपेश्वर गुफामुनि ढुङ्गाखानी सञ्चालनमा थियो । त्यो बेला धेरै दुःख कष्ट र नोक्सानी बेहोर्नुपरेको स्थानीयवासी गौरी पहरीले बताए । ढुङ्गा ल्याई टोलमा मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ ।
'मूर्ति स्थापनापछि हालसम्म कोही कसैलाई हानि भएको छैन,' स्थानीयवासी झलकमान पहरीले भने । तपेश्वर महादेव गुफाको दायाँतर्फ भैरवको गुफा छ ।
यहाँ दशैँ र चैतमा भैरवलाई कुखुरा र बोकाको भोग दिएर पूजाआजा गरिन्छ । आर्थिक वर्ष २०७६/७७ मा गोदावरी नगरपालिकाबाट तपेश्वर मूर्ति निर्माण र स्थापनाका लागि रु ५० लाख, प्रदेशसभाबाट रु एक करोड र डा जगदिशलाल वैद्यबाट रु २५ लाख सहयोगको घोषणा गरिएको छ ।