
काठमाडौं – विश्वको लगभग एक चौथाइ जनसंख्याले पानीको चरम अभाव छिट्टै भोग्नुपर्ने भएको छ ।
कुल १७ वटा देशमा अहिले नै मानिसहरूले पानीको अभाव झेलिरहेका छन् र ती देशका धारामा अब केही समयमा नै पानी आउन छोड्छ ।
द वर्ल्ड रिसोर्सेस इन्स्टिच्युट याक्वेडक्ट वाटर रिस्क एटलासले मंगलवार जारी गरेको प्रतिवेदनले पानीको समस्या, सुक्खाको जोखिम र नदीबाट हुने बाढीको जोखिम संसारभरि रहेको देखाएको छ ।
पानीको अभावको जोखिम रहेका देश कतार, इजरायल, लेबनान, इरान, जोर्डन, लिबिया, कुवेत, साउदी अरब, इरिट्रीया, यूएई, सान मारिनो, बहराइन, भारत, पाकिस्तान, तुर्कमेनिस्तान, ओमान र बोत्स्वाना छन् ।
‘बढी जोखिममा परेका १० देशमा कृषि, उद्योग र नगरपालिकाहरूले प्राप्त जलको ८० प्रतिशत भाग उपभोग गर्ने गरेका छन्,’ प्रतिवेदनमा लेखिएको छ ।
‘पानीको अभाव अहिलेको सबभन्दा ठूलो संकट हो र यसका बारेमा कसैले पनि कुराकानी गरिरहेको छैन । यसको दुष्परिणाम भनेको खाद्य असुरक्षा, द्वन्द्व, आप्रवास र आर्थिक अस्थिरता हो,’ डब्ल्यूआरआईका कार्यकारी प्रमुख एन्ड्रु स्टीयरले भने ।
ग्रीस, बेल्जियम र पोर्चुगल लगायतका २७ अन्य मुलुक पनि उच्च आधाररेखा जल अभावमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एजेन्सी