०८ असार २०८३, सोमबार

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै, भिडियो भेटिएपछि ट्वीस्ट

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै, भिडियो भेटिएपछि ट्वीस्ट

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेर्नुभएका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौं लगेको उनले बताए ।

आज अन्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए ।

पुडासैनीको शव राति काठमाडौं लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

salt training

कमेन्ट गर्नुहोस्