०८ साउन २०८३, शुक्रबार

ईदअगाडि निराशा र डरमा डुबेको छ कश्मीर

ईदअगाडि निराशा र डरमा डुबेको छ कश्मीर

काठमाडौं – धारा ३७० खारेज गर्ने मोदी सरकारको कदमपछि जम्मु–कश्मीरका मानिसको जीवन घरैमा कैद भएको छ । 

सडकहरू सुनसान छन् । बजारमा कुनै रौनक छैन । ईद पर्व आउन लागेको छ र त्यसको तयारी गर्नुको साटो मानिसका मनमा अनेकौं प्रश्नका ज्वारभाटा उठिरहेका छन् । ईद–उल–जहाको पर्व सधैंको जस्तो गरी मनाउन पाइएला कि नपाइएला भनी मानिसहरू अन्योलमा छन् । 

एसएमएचएस अस्पतालका एक चिकित्सक भन्छन्, ‘मैले रोगीहरूको उपचार गर्न पाएको छैन । कर्फ्यु लगाइएको भए पनि म अस्पताल गइरहेको छु । म नै अस्पताल गइनँ भने मेरा रोगीहरूको हालत के हुन्छ ? जम्मु–कश्मीरका मानिसमाथि यस्तो गरिनु हुँदैनथियो ।’

फारुककी पत्नीलाई केही दिन बिराएर डायलिसिस गर्नुपर्ने हुन्छ । फारुक भन्छन्, ‘डेप्युटी कमिस्नर कार्यालयबाट मैले दुईवटा कर्फ्यु पास पाएँ । त्यसैले मैले पत्नीलाई अस्पताल लग्न चाहिँ पाएको छु । तर यसले मेरो मन शान्त बनाएको छैन । डेप्युटी कमिस्नर कार्यालयका कर्मचारीहरू राम्रा छन् । उनीहरूले मेरो सहायता गरे । तर भन्नुस् न, यस्तो जिन्दगी कसले बाँच्न चाहन्छ ?’

केन्द्र सरकारले जम्मु–कश्मीरमा हालत पहिलेभन्दा राम्रो भइरहेको अनि स्थिति नियन्त्रणमा रहेको भनिरहेको छ । तर त्यहाँका मानिसको पीडा हेर्दा सबै कुरा ठीक छैन भन्ने प्रस्ट छ । सञ्चारकर्मीहरूका लागि अहिले मुश्किल स्थिति छ । 

दक्षिण भारतको एक पत्रिकाका लागि काम गरिरहेका एक पत्रकार भन्छन्, ‘म आफैंले कर्फ्यु पास पाइनँ । मैले यसको बारेमा सोधखोज गर्दा कुनै पनि मिडियाकर्मीलाई पास नदिनू भन्ने निर्देशन छ भनियो ।’

जम्मु–कश्मीरका मूलधारे राजनीतिक नेता र सामाजिक कार्यकर्ता सहित ४०० भन्दा बढी मानिस विभिन्न स्थानमा हिरासतमा छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सुरक्षाबलहरूलाई कडा प्रतिबन्त्रमा पनि सर्वसाधारणलाई दुःख नहोस् भन्ने विषय सुनिश्चित गर्न निर्देशन दिएका छन् । जम्मु–कश्मीरका मुख्य सचिवले सरकारी कर्मचारीलाई तत्कालै काममा फर्किन निर्देशन दिएका छन् । यसबाहेक साम्बा जिल्लामा शुक्रवारदेखि सबै विद्यालय खोलिएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्