
उदयपुर – जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधा दर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् ।
गाउँपालिका–५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् ।
गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नम्बर–५ का वडाध्यक्ष पाण्डब राई बताउँछन् । केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरू त्रसित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएर स्थानीयलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन शुरू गरेको अध्यक्ष खड्काको भनाइ छ ।