०८ असार २०८३, सोमबार

मध्यपहाडी लोकमार्ग खुलाउन ३ हप्ता लाग्ने

मध्यपहाडी लोकमार्ग खुलाउन ३ हप्ता लाग्ने
फाइल फोटो

पर्वत – तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब ३ हप्ता लाग्ने भएको छ ।

पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । 

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमवार मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्रयाक खोल्न करीब ३ हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । 

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्रयाक खेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने काम शुरू गरिएको छ । ‘ट्रयाक खोल्ने ठाउँमा ठूलो ढुंगाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्रयाक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ,’ उनले भने ।

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौंबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । 

यसैगरी लोकमार्गको पर्वत खण्डमा २ महिनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मत लगायतका काम शुरू गरिएको प्रमुख थापा मगरले बताए ।

वर्षा शुरू भएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड  पहिरोको उच्च जोखिममा छ । 

salt training

कमेन्ट गर्नुहोस्