
काठमाडौं, १५ चैत –राजधानीको रत्नराज्य क्याम्पस (आरआर)मा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन चलिरहेकै समयमा पेट्रोल बम प्रहार भएको छ । नेविसंघ र अनेराश्ववियुले माओवादी निकट क्रान्तिकारी बिद्यार्थी संगठनले पेट्रोल बम प्रहार गरेको आरोप लगाएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसवि छविलाल जोशीले पेट्रोल बम प्रहार भएकोबारे अनुसन्धान चलिरहेको लोकान्तरलाई बताए । ‘बम कस्ले हान्यो भन्नेवारे हामीले अनुसन्धान गरिरहेका छौ, छिट्टै पत्ता लाग्छ’ उनले भने । पेट्रोल बम प्रहारवाट कोही घाइते भएको छैनन् । क्याम्पस भित्र चुनाव भइरहेको समयमा पत्रकारहरुलाई लक्षित गरी पेट्रोल बम हानिएको थियो ।
माओवादी केन्द्री निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं आरआरका चुनावी कमाण्डर तोकिएका मिलन एमसीले आफूहरुले पेट्रोल बम प्रहार नगरेको बताए ।
‘हामी संयमित ढंगले बिरोध गरिरहेका छौं, भिजिलान्ते प्रयोग गरेर पेट्रोल बम हानियो’ एमसीले लोकान्तरसँग भने । प्रहरीले आफूहरुको बिरोधमा दमन गरेको दावी गर्दै उनले क्रान्तिकारीका १२ जना कार्यकर्ता घाइते भएको बताए ।
मंगलवार जारी निर्वाचनको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, वैद्य माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थीहरूले पनि नाराबाजी गरिरहेका छन् ।
यसअघि पटक –पटक रोकिएको स्ववियू निर्वाचन विरोधका बीच मंगलवार सूचारु भए पनि ती विद्यार्थी संगठनले अवरोध सृजना गरिरहेका छन् । विहानदेखि पटक –पटक झडप समेत भइसकेको छ । निर्वाचनमा अनेरास्ववियूबाट तपेन्द्रबहादुर शाही र नेविसंघबाट उत्तम साउद प्रतिस्पर्धामा छन्