
काठमाडौं – नर्वेको राजधानी ओस्लोको काँठमा रहेको अल–नूर इस्लामिक सेन्टरमा एक बन्दूकधारीले शनिवार गरेको गोलीकाण्डलाई प्रहरीले आतंकवादी घटनाका रूपमा हेरिरहेको छ ।
मस्जिदमा रहेका एक व्यक्तिले बन्दूकधारीलाई रोक्न सफल भएका थिए र त्यसक्रममा उनलाई हल्का चोटपटक लागेको थियो ।
पछि आरोपितको घरमा एक महिला मृत भेटिएकी थिइन् । महिलाको आरोपितसँग नाता रहेको प्रहरीले पुष्टि गरेको छ ।
मस्जिदका प्रमुखले आक्रमणका बेलामा तीनजना मात्र भित्र रहेको बताएका छन् ।
ओस्लो प्रहरीले आरोपित एक नर्वेली पुरुष भएको र उनलाई घटना हुनुअघि पनि प्रहरीले थाहा पाएको बताए । उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको प्रवक्ताको भनाइ छ ।
ती व्यक्तिले कसैको निर्देशन नलिइकन आफैं काम गरेको बताइएको छ ।
केही महिनाअघि न्युजील्यान्डको क्राइस्टचर्चमा एक बन्दूकधारीले ५१ ज्नाको हत्या गरेको घटनापछि ओस्लोको मस्जिदमा सुरक्षाको अतिरिक्त व्यवस्था मिलाइएको थियो ।
बीबीसीबाट