
काठमाडौं – एक विमानकी एयर होस्टेस रक्सीले चुर भएर सीटमा सुतेको अनि यताउता ढुलमुल गरेको दृश्य यात्रुले खिचेपछि उनको जागिर गएको छ ।
अमेरिकाको विस्कोन्सिन राज्यको वाउकेशामा बस्ने जुलिएन मार्च युनाइटेड एक्सप्रेसको उडानमा शिकागोबाट इन्डियाना जाने क्रममा मदिरामा मस्त भएकी थिइन् ।
विमान अवतरण गरेपछि अधिकारीहरू विमानमा प्रवेश गरे अनि मार्च रुन थालिन् । उनलाई आफू शिकागोमै छु जस्तो लाग्यो ।
यात्रु आरोन शेर्बले विमान परिचारिकाको व्यवहार अनौठो रहेको याद गरेको एबीसी न्युजलाई बताए ।
मार्च सीटहरूमा ढेसिएर बसेको र विमानमा आएका यात्रुहरूसँग आँखा जुधाएर हेर्न नसकेको शेर्बले बताए ।
विमान परिचारिकाले विमान उड्ने बेलामा सुरक्षा घोषणा गर्दा लर्बरिएको सुनिएको अनि विमानमा सीटहरूको बीचबाट हिँड्दा यात्रुहरूसँग ठोकिएको उनले बताए । त्यसपछि उनी सीटबेल्ट नबाँधिकनै सीटमा बेहोश भए झैं गरी सुतेकी थिइन् ।
उडानका क्रममा यात्रुहरूले उनलाई बोलाउँदा उनले कुनै प्रतिक्रिया नजनाएको अर्का यात्रुले बताए ।
विमान अवतरण गरेपछि शेर्बले पाइलटहरूलाई उनको व्यवहारका बारेमा बताए । पाइलटहरूले यो कुरा थाहा पाएको र अधिकारीहरूलाई सूचित गरेको जवाफ दिए ।
घटना हुँदा मार्च परीक्षणकालमै थिइन् र केही महिनायता मा विमान परिचारिकाका रूपमा कार्यरत थिइन् ।
उनलाई जागिरबाट निकालिएको छ ।
एजेन्सी