
काठमाडौँ - कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'का प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ कल बाइपास गरेको आरोपमा विसं २०७२ मा समेत पक्राउ परेका थिए ।
अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो । तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानूनी धन्दामा लागेको फेला परेको हो ।
गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँमा सात दिनको म्याद लिई तामाङबारे अनुसन्धान थालिएको सिआइबीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने ११० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरुसँग रु १२ अर्ब बिगो मागदाबीसमेत गरेको छ ।