०२ असार २०८३, मंगलबार

बाढीपहिरोको भौतिक क्षति : ४५ पुल बिग्रिए, आधा अर्बको क्षति

साउन २७, २०७६
बाढीपहिरोको भौतिक क्षति : ४५ पुल बिग्रिए, आधा अर्बको क्षति
फाइल फोटो

काठमाडौं – हालैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ४५ वटा पुलमा क्षति पुगेको छ भने आधा अर्ब बराबरको क्षति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको र तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको बताए ।

संसद्को विकास समितिको आइतवारको बैठकमा मन्त्री महासेठले समिति सदस्यहरूलाई यस्तो जानकारी दिएका हुन् ।

राजधानी दैनिक लेख्छ – मन्त्री महासेठका अनुसार सडक डिभिजन खुर्कोटअन्तर्गत ५ वटा पुलमा क्षति पुगेको छ भने ३ वटाको मर्मतमा ४७ लाख खर्च हुने अनुमान छ । सडक डिभिजन विराटनगरअन्तर्गत तीन वटा पुलमा क्षति पुगेको छ । ती पुलको मर्मतमा १ करोड २५ लाख खर्च हुने अनुमान छ । सडक डिभिजन जनकपुरमा ५ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि २ करोड ९० लाख लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजन लहानअन्तर्गत ६ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि १ करोड खर्च लाग्ने अनुमान गरिएको छ । उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत एउटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि ५० लाखको खर्च अनुमान छ । 

सडक डिभिजन हेटौंडामा ३, सडक डिभिजन नेपालगन्जमा ३, मध्यपहाडी लोकमार्ग आयोजनामा २ र सडक डिभिजन झापामा ७ वटा पुलमा क्षति पुगेको छ । ती पुलको पुनर्निर्माणका लागि २ करोड १ लाख, ३ करोड, १ करोड २० लाख र २ करोड २५ लाख खर्च हुने मन्त्रालयले अनुमान गरेको छ ।

सडक डिभिजन दमौलीमा एउटा पुलमा क्षति पुगेको छ भने बनाउन १ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । सडक परिक्रमा मार्ग जनकपुरमा एउटा पुलमा क्षति पुगेको छ भने त्यसको पुनर्निर्माणमा २ करोड ५० लाख लाग्ने अनुमान छ ।

सडक डिभिजन चन्द्रनिगाहपुरमा एउटा पुलमा क्षति पुगेको छ भने हुलाकी राजमार्ग जनकपुरअन्तर्गत ७ वटा पुलमा क्षति पुगेको छ । चन्द्रनिगाहपुरका पुलको पुनर्निर्माणमा १४ लाख र हुलाकी राजमार्गको पुल निर्माणका लागि २ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

मन्त्री महासेठले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलको पुनर्निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी गराए । उनले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलहरूको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने समेत जनाए ।

समितिले बाढी र पहिरोले क्षति पुर्‍याएको पुलको तत्काल पुनर्निर्माण तथा मर्मत गर्न निर्देशन दिएको छ । समितिले दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्‍याएका संरचना तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्