
भीमदत्तनगर – विद्यालयमा अध्ययनरत छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटीएम मेसिन’ जडान गरेको छ ।
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले २६ लाख ३३ हजार रुपैयाँमा मेसिन जडान गरेको हो ।
महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगर प्रमुख चन्दको भनाइ थियो ।
‘महिनावारी भएका बेला छात्राहरू विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो,’ चन्दले भने, ‘सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।’