
काभ्रे, १५ चैत — आगामी २०७४ को वैशाखमा हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा देशभर म्यादी प्रहरी भर्नाको काम शुरु भएको छ । म्यादी प्रहरीका लागि काभ्रेमा आवेदन दिनेमा महिलाको संख्या अधिक देखिएको छ ।
फुर्सदको समयमा छोटो समयका लागि मात्र भएपनि जागिर खाने र समयको सदुपयोग हुने भन्दै महिलाहरूले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका हुन् ।
बेरोजगार बस्नुभन्दा केही रकम कमाइ पनि हुने र समयको सदुपयोग हुने भएकाले आवेदनका लागि आएको काभ्रे कानपुरकी मीना लामाले सुनाइन् ।
देशमा बेरोजगारको संख्या बढ्दै गएकोले ५५ दिनका लागि मात्रै भएपनि म्यादी प्रहरीमा जागिर खानको लागि युवाहरूको आकर्षण बढेको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन खुल्ला भएपछि पाँच दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा हालसम्म ७ सय जनाले म्यादी प्रहरीमा काम गर्न पाऊँ भन्दै निवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सहकुल थापाले जानकारी दिए ।
निर्वाचनमा खट्ने म्यादी प्रहरीलाई प्रहरीको जवानले पाएसरहको तलब, भत्ता तथा अन्य सुविधाहरू उपलब्ध हुनेछ । म्यादी प्रहरीका लागि १८ गतेसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी प्रधान कार्यालयले ७५ जिल्लाका लागि प्रतिजिल्ला एक हजारका दरले म्यादी प्रहरी माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार म्यादी प्रहरीमा आईएसम्म अध्ययन गरेका युवाहरूले काम गर्नका लागि निवेदन दिएका छन् । प्रहरीका अनुसार म्यादी प्रहरीमा काम गर्नका लागि विशेषगरी २०७० सालको
संविधानसभाको निर्वाचनमा म्यादी प्रहरी भएका र भूतपूर्व प्रहरीले काम गर्नका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
१८ वर्ष उमेर पुगेका र ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि निवेदन दिन सक्नेछन् ।