
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले १४ लाख रुपैयाँ पर्ने पोर्टोफिनो घडी लगाएको खुलेको छ । विलासी सामानमा लगाइएको प्रतिबन्धलाई छल्दै उनले महंगो घडी लगाएका हुन् ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको आणविक परीक्षणलाई सजाय दिँदै विलासी सामान भित्र्याउन प्रतिबन्ध लगाएको छ । विलासी घडीहरूको झन् नामै तोकिएको छ ।
दक्षिण कोरियाका घडी विशेषज्ञहरूले किमको नाडीमा महंगो विलासी घडी देखेका हुन् ।
सर्वसाधारण उत्तर कोरियालीहरूले खाद्य अभावको सामना गरिरहँदा किमले भने यति विलासी घडी लगाएका हुन् ।
घडी विशेषज्ञ किम चाङ–क्युले एक कोरियाली पत्रिकालाई बताएअनुसार, उत्तर कोरियाली नेताले जुलाई २५ मा गरिएको क्षेप्यास्त्र परीक्षणमा आईडब्ल्यूसी पोर्टोफिनो अटोम्याटिक घडी लगाएको बताए ।
घडीको पहिचान हतियार परीक्षणको एक महिनापछि मात्र खुलेको हो ।
प्योङयाङको दाएसोङ डिपार्टमेन्ट स्टोरमा रोलेक्स, टिस्सोट र ओमेगा जस्ता महंगा ब्रान्डका सामान बेच्ने गरिएको खुलासा भएको केही दिनपछि किमको घडीका बारेमा उजागर भएको हो ।
एजेन्सी