
काठमाडौं – केन्याको पश्चिमी भागमा अधिकारीहरूले एकजना स्थानीयको शरीर उत्खनन गरेर उनले लगाएको लुगा खोलेर फेरि गाडेका छन् ।
मार्टिन शिकुकु अलुकोयेको यसै महिना पानीमा डुबेर मृत्यु भएको थियो र उनले मर्नेबेलामा काकामेगा काउन्टी युथ सर्भिसको युनिफर्म लगाएका थिए ।
स्थानीय अधिकारीहरूले युनिफर्म झिक्नका लागि शरीर उत्खनन गरेका थिए । उनको परिवारले यसमा आपत्ति उठाएको थियो ।
अधिकारीहरूले कानून र पूर्खाले बनाएको नियम उल्लंघन गरेको अलुकोयेका काकाले बताए ।
‘हामीले अन्तिम संस्कारमा काउन्टी सरकारलाई पूर्ण रूपमा संलग्न गराएका थियौं र उनलाई युनिफर्ममै गाड्ने हाम्रो प्रस्तावलाई उनीहरूले प्रतिकार गरेका थिएनन्,’ फ्रान्सिस मुताम्बाले भने ।
अलुकोयेको युनिफर्म निकाल्ने अधिकारीहरूको अनुरोधलाई आफूले नमानेको तर अधिकारीहरूले सम्मति वा अदालतको आदेशविना नै त्यसो गरेको परिवारले बतायो ।
इटुटी क्षेत्रका असिस्टेन्ट चीफ डेनियल नामायीले उत्खनन कार्यको भर्त्सना गरे र त्यसो गर्ने अधिकारीहरूका विरुद्ध कानूनी कारवाहीको धम्की दिए ।
अबाङओन्या कबिलाका वृद्धहरूले पनि शव उत्खनन गर्ने अधिकारीहरूको कदमको आलोचना गरेका छन् । उनीहरूका लागि यो वर्जित विषय हो ।
बीबीसीबाट