
काठमाडौं – भारतको स्वतन्त्रता दिवसको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको कब्जामा रहेको नेपाली भूभाग फिर्ता दिन अपील गरेको छ ।
यस सम्बन्धमा ग्रेटर नेपालको प्रेस विज्ञप्ति :
अगस्ट १५ भारतीय जनताले बेलायती साम्राज्यबाट स्वराज पाएको ऐतिहासिक दिन भएको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । तर यही दिन बेलायतको अधीनमा राखिएको नेपाली जमिन पनि उपनिवेशबाट मुक्त भएको हो भन्ने सत्यपट्टि आँखा चिम्लेर भारतले सुगौली सन्धिपूर्वको नेपालको जमिनमा उपनिवेश कायम गरेको हुँदा नेपाली मात्रका निम्ति अगस्ट १५ `कालो दिन´ पनि हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ठहर छ । हाम्रो करिब ६०,००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर त्यहाँ स्वतन्त्रता दिवस मनाउनु लाजमर्दो , क्षोभजनक र निन्दनीय कुरा हो ।
स्वतन्त्रताको अर्थ सार्वभौम र सार्वकालिक रूपमा एउटामात्र हुन्छ तर भारत आफूले चाहिँ स्वतन्त्रताको उपभोगमात्र गरेको छैन अनपेक्षित रूपमा स्वतन्त्रतामाथि बलात्कार पनि गरेको छ । सन् १९४७ अगस्ट १५ का दिन आजको भारतले स्वतन्त्रता पाएकै क्षण नेपालको ६०००० वर्ग किलोमिटर जमिन पनि बेलायती उपनिवेशबाट मुक्त भएको हो तर भारतले त्यसै दिन नेपाली भूभागमा उपनिवेश कायम गरेको हो । आफूले स्वतन्त्रताको उपभोग गर्ने तर अर्कालाई उपनिवेशको जाँतोमा पिस्ने भारतको यो द्वैध चरित्रले दक्षिण एसियालाई सशंकित र आतङ्कित पारेको छ । कश्मीरको विशेष अधिकार खोसेर हालै भारतले त्यहाँ जुन आतङ्क मच्चाएको छ , यसले स्वतन्त्रताको अर्थको धज्जी नै उडाएको छ ।
आज अगस्ट १५ का दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सन् १९४७ अगस्ट १५ को मध्य रातमा भारतले पाएको स्वतन्त्रतासँगै बेलायती उपनिवेशबाट मुक्त भएको नेपाली भूभागमा पुनः उपनिवेश कायम गर्दै आएकोमा त्यो भूभाग नेपाललाई अविलम्ब फिर्ता गर्न भारत सरकारसमक्ष जोडदार माग गर्दछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा