काठमाडौं – पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा भएको रवि लामिछानेको गिरफ्तारीको विरोधमा भइरहेको प्रदर्शनमा गैरसंवैधानिक नारा लागेको भन्दै सांसदले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा नेकपा सांसद हितबहादुर तामाङले चितवनका सडकमा गैरसंवैधानिक नारा लागेको भन्दै नियन्त्रण लिन माग गरेका हुन् ।
‘शालिकराम पुडासैनीको आत्महत्याका प्रकरणलाई लिएर ३ जनालाई लिएर चितवनको सडकमा प्रदर्शन भइरहेको सुन्नमा आएको छ । गैरसंवैधानिक नारा लागेका छन् भन्ने कुरा आएको छ, त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार लागिपरोस्,’ तामाङले भने । उनले राज्यले कुनै पक्षबाट प्रभावित नभइ, निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरे ।
शून्य समयमै नेकपाकी शान्ता चौधरीले अनुसन्धान प्रभावित गर्ने क्रियाकलाप कसैले गर्न नहुने बताइन् । ‘देश विधिले चलाउने हो, अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन् । अनुसन्धान प्रभावित गर्ने क्रियाकलाप कसैले गर्नु हुँदैन,’ चौधरीले भनिन् ।