
काठमाडौं – मेक्सिकोमा यौन हिंसाका विरुद्ध थप कठोर कानून बनाइनुपर्ने भनी गरिएको प्रदर्शनको लाइभ रिपोर्टिङ गरिरहेका एक पत्रकारमाथि एक व्यक्तिले मुक्का प्रहार गरेका छन् ।
हुआन म्यानुअल हिमेनेज नामक ती पत्रकारको अनुहारमा एक विरोधकर्ताले मुक्का हानेका थिए ।
दुईजना किशोरीले आफूहरूमाथि प्रहरी अधिकारीहरूले बलात्कार गरेको आरोप लगाएपछि विरोध प्रदर्शन शुरू भएको थियो । शुक्रवार ५०० जना जति महिलाले सडकमा प्रदर्शन गरे भने शहरका प्रहरी प्रमुखलाई गुलाफी ग्लिटर छरिएको थियो ।
भिडियो चलिरहेको बेलामा नजिकै उभिएका एक व्यक्ति हिमेनेन नजिक पुग्छन् र भन्छन्, ‘अहिले उनीहरू एकदमै रिसाएका छन् । म अर्को ठाउँमा जान्छु ।’
अचानक ती व्यक्तिले हिमेनेजको अनुहारमा मुक्का हान्छन् र हिमेनेज भुइँमा पछारिन्छन् ।
पत्रकार भुइँमा लड्दा महिलाहरूले आक्रमणकारीमाथि ग्लिटर फाल्छन्, उसको लुगा समात्छन् र पक्रेर राख्न खोज्छन् । टीभी क्यामराले ती व्यक्तिलाई पछ्याउँछ र उनी भीडमा भाग्न खोज्छन् ।
मेक्सिको सिटीका कानूनले अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन गरेको र ती कानूनले महिला तथा बालिकालाई घरेलु तथा यौन हिंसाबाट पर्याप्त बचाव गर्न नसक्ने ह्युमान राइट्स वाचको भनाइ छ ।
एजेन्सी